सुन तस्करीको आरोपमा पूर्वसभामुख महराविरुद्ध अदालतमा मुद्दा
महरा आइतबार पक्राउ परेका थिए। सरकारी वकीलले महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ।
काठमाडौं, असोज २७ : विद्युतीय चुरोपट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानविनपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
महरा आइतबार पक्राउ परेका थिए। सरकारी वकीलले महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको छ।
उनलाई अनुसन्धानका लागि थुना म्याद नलिई मुद्दा चलाइएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धमा पूर्व न्यायाधीश डिल्लि आचार्य नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अनुरुप महरालाई सुन तस्करीमा दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरिएको थियो।
सोही प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरामाथि अनुसन्धान गरी ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको थियो।
महराविरुद्ध भन्सार छलेको एवम् संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर अदालतमा मुद्दा दायर भएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको दाबीसहित सजायको माग राखेर मुद्दा चलाइएको हो ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
