इजरायलस्थित नेपाली राजदूतले भन्याे- विपिन जोशी जीवित छैनन्
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७ः३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्।
काठमाडौं, असोज २७ : हमासले सोमबार रिहा गरिने २० बन्धकको नाम सार्वजनिक गर्दा नेपालका विपीन जोशीको नाम समावेश छैन।
इजरायली सेनाका अधिकारीले इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको जानकारी इजरायलस्थित नेपाली दूतावासलाई दिएका छन्। इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्।
इजरायलस्थित नेपाली राजदूत पण्डितले जनाए अनुसार आईडीएफका अधिकारीले ‘विपिन ईज नो मोर’ भन्ने जवाफ दिएका छन्। इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उक्त आक्रमणमा क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई अपहरण गरी आफूसँगै लिएर गएका थिए।
विपीन सन् २०२३ नोभेम्बर १७ मा गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसयता उनको अवस्था अज्ञात थियो । विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए।
हाल उनीहरु अमेरिकामा छन्। विपिनको अवस्था सार्वजनिक गराउन सरकारको तर्फबाट भएका कूटनीतिक प्रयास सबै विफल भएका छन्।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
