बोलपत्रको सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा
माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
काठमाडौं, असोज २६ : रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७७÷७८ मा माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आह्वान गरिएको ठेक्काको बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित नगरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ।
माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियारको अनुसन्धानका क्रममा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ, लेखापाल यादव र एडभटाइजिङ्ग एजेन्सीका सञ्चालक कर्णसमेतको आपसी मिलोमतो र योजनामा सूचना प्रकाशन नगरी भुक्तानी दिएको भेटिएको छ।
बोलपत्र आह्वानको सूचना (मिति २०७७।१०।०८) र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (मिति २०७७।११।१३) लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरिएको पाइएको अख्तियारले जनाएको छ।
ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्न मात्रै ‘सिटी पोष्ट राष्ट्रिय दैनिक पत्रिका’ जस्तो देखिने सीमित प्रतिहरू मात्र प्रकाशित गरी नगरपालिकामा पेश गरेको आरोप उनीहरुविरुद्ध लनगेको छ । प्रकाशित भएको भनिएको सूचना प्रेस काउन्सिल नेपालको ‘पीडीएफ अभिलेख’ मा नदेखिएको पनि जनाइएको छ।
झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा एडभटाइजिङ्ग एजेन्सीलाई दुई लाख ५७ हजार नौ सय ७० रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको दाबी अख्तियारको छ । सोही विगो कायम गर्दै तीनजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिबाना र सजाय गर्न अख्तियारको माग छ ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
