युवा संघको र्याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयले लगायो प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शुक्रबार एक सूचना जारी गर्दै युवा संघलगायत समूहले आयोजना गरेको मोटरसाइकल र्यालीमाथि रोक लगाएका हुन्।
काठमाडौं, असोज २४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमाले निकट युवा संघले शनिबार आयोजना गरेको मोटरसाइकल ¥याली, सभा र प्रदर्शनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शुक्रबार एक सूचना जारी गर्दै युवा संघलगायत समूहले आयोजना गरेको मोटरसाइकल र्यालीमाथि रोक लगाएका हुन्। युवा संघले शनिबार कोटेश्वर–तीनकुनेमा १ बजे मोटरसाइकल ¥याली आयोजना गरेको थियो।
जिल्ला प्रशासनको सूचनामा भनिएको छ ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल ¥याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ । यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि ¥याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ।’
प्रशासनले गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ।
साथै, प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह पनि गरेको छ।
युवा संघसहित विभिन्न समूहहरुबाट हुने भनिएका ¥याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने निष्कर्ष जिल्ला प्रशासन कार्यालयले निकालेको छ। साथै, आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने पनि सूचनामा उल्लेख छ।











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
