भदौ २४ को जेनजी आन्दोलनको घटनाबारे छानबीनगरी कारबाही गर्न कांग्रेसको माग
उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए।
काठमाडौं, असोज २३ : नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले भदौ २३ र २४ गते भएको अराजकता गतिविधिमाथि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने कुरामा सबैको समान दृष्टिकोण आएको बताएका छन्।
बिहिबार बसेको पदाधिकारी बैठकको क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भदौ २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो यसका बारेमा तत्काल अनुसन्धान गर्नुपर्ने भन्दै यसमा सबै पदाधिकारीहरुको समान दृष्टिकोण आएको बताए।
‘भदौ २३, २४ गते जुन अराजकता, लुटपाट, आगजनी भयो निजी सम्पत्तिमाथि आक्रमण भयो, नेताहरुमाथि आक्रमण भयो, राष्ट्रिय संरचनामाथि पनि आक्रमण भयो, यसका बारेमा तत्काल अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुरामा हामी सबैको समान दृष्टिकोण आएको छ,’ उनले भने।
यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए।
‘हाम्रो सामु जुन राष्ट्रिय चुनौती खडा भएको छ। यसले पार्टीको सामु पनि चुनौती खडा भएको छ। यो अवस्थाबाट कसरी अगाडि बढ्ने र आत्मविश्वासको अवस्था सकारात्मक कसरी बनाउने, लोकतान्त्रिक मूल्य र मान्यताप्रति हामी प्रतिबद्ध छौं, त्यसलाई कसरी जोगाउने र समग्र देशलाई पनि कसरी कमजोर हुनबाट रोक्ने भन्ने खालको विषयमा सबैले आफ्नो कुरा राख्नुभयो,’ उनले भने।
२४ गतेको घटनालाई गृहमन्त्रालयले नै अब कारबाही नगर भनेको कुराप्रति पार्टीको गम्भिर आपत्ति रहेको पनि उनको भनाई छ।












