हुलाकको आवश्यकता र सार्थकता मरेको छैन : मन्त्री खरेल
उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए।-1760003120.jpg)
काठमाडौं, असोज २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायकि बनाउनुपर्ने बताएका छन्।
विहीबार विश्व हुलाक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हुलाकलाई व्यवसायिक बनाउनुपर्ने भन्दै विश्वको सबै कुनामा रहेका नेपालीहरुसम्म हुलाकको पहुँच पुर्याउनुपर्ने बताए।
‘अब हुलाकको सन्दर्भमा हुलाकलाई आधुनिक बनाउनु पर्छ। हुलाकलाई प्रतिस्पर्धी बनाउनु पर्छ र व्यवसायकि बनाउनुपर्छ । हामीले जुन अभियान अगाडि बढाउदैँ छौ यो सबै कुराहरुले मात्र विश्वव्यापी पहुँच पुर्याउन सक्छौं,’ उनले भने, ‘विश्वको सबै कुनामा रहेको नेपालीहरुसम्म हुलाकको पहुँच भयो भने बद्लिदो समय अनुसार स्मार्ट हुलाकको जुन कुरा गरेका छौ यसलाई सार्थक बनाउन सक्छौं।’
उनले हुलाकको आवश्यकता र सार्थकता नमरेको भन्दै यसलाई समय अनुकुल अगाडि बढाउन नेपाल सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको बताए।
‘हुलाकको आवश्यकता र सार्थकता मरेको छैन। यसलाई समय अनुकुल बनाउदैँ जानुपर्छ भन्ने कुरामा जसरी काम गर्नु भएको छ त्यसमा सरकार र सञ्चार मन्त्रालय सबै सरोकारवालाहरुको साथमा रहेको छ,’ उनले भने।
मन्त्री खरेलले नीतिगत, संरचनागत विषयमा गर्नुपर्ने कामहरु र अन्य कार्यान्वयनको पाटोमा के के काम कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सरकार सबैजनासँग बसेर सहकार्य गर्न तयार रहेको बताए।
इतिहास बोकेको पुरानो र गर्भिलो इतिहास बोकेको संस्थामा आएर यो दिवस मनाउन पाउदा र चार वटा हुलाक टिकटमा टाँचा लगाई राख्दा एकदमै खुसी लागेको पनि उनको भनाई छ।












