अहिलेको सरकार बलमिच्याईँले बनेको हो, देश चलाउने कुरा ठट्टा होइन : ओली
‘म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन।’
काठमाडौं, असोज २३ : एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार बलमिच्याँइले बनेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो कुरा बताएका हुन। ओलीले शर्त राखेर मात्रै सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएको जिकिर पनि उनले गरे।
‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ। किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको सरकार छ । अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो,’ ओलीले भने।
उनले संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएर प्रधाामन्त्री बनेको समेत बताए। उनले आफू प्रधानमन्त्री कार्कीसँग डराएर नभाग्ने पनि बताए।
आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन समेत उनले चेतावनी दिए।
अहिलेका गृहमन्त्रीलाई आफुले नचिन्ने बताउँदै भने, ‘म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन।’
यस्तै, ओलीले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको बताउँदै एमालेलाई नजिस्क्याउन समेत चेतावनी दिए । ओलीले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको समेत बताएका छन् ।












