दशैंको टीका र जमराको शास्त्रीय साइनो
पण्डित नारायणप्रसाद आचार्यका अनुसार, जमरा भनेको जौं हो र जौंलाई भगवान विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ।
काठमाडौं, असोज १६ : नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य आकर्षण नै टीका र जमरा हो भन्ने कुरा सबैलाई थाहा छ। प्रत्येक वर्ष आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिने परम्परा सदियौंदेखि चल्दै आएको छ।
तर जमरा र टीका केवल एक सांस्कृतिक अभ्यास मात्र नभइ, यसको धार्मिक, आध्यात्मिक र वैज्ञानिक अर्थ पनि उत्तिकै गहिरो छ।
पण्डित नारायणप्रसाद आचार्यका अनुसार, जमरा भनेको जौं हो र जौंलाई भगवान विष्णुले अन्नमध्ये अत्यन्त प्रिय मानेको शास्त्रमा उल्लेख पाइन्छ। घटस्थापनाको दिन राखिएको जमरा नवमीसम्म पूजा गरी दशमीका दिन देवीलाई विसर्जन गरेपछि महाप्रसादका रूपमा ग्रहण गरिन्छ।
‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेंलो जमरा सफलता र पूर्णताको प्रतिक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशिर्वाद थापिन्छ,’ उनी भन्छन्।
त्यस्तै, रातो टीकालाई भगवतीको आकर्षणको प्रतिकका रूपमा बुझिन्छ। निधारमा रातो टीका लगाउँदा विजय, ऐश्वर्य र उर्जाको भाव प्रकट हुन्छ।
‘रामले रावणमाथि विजय हासिल गरेको सम्झनामा हामी विजयादशमीलाई विजय उत्सवका रूपमा मनाउँछौं । यस दिनको टीका र जमराले त्यसै विजयको स्मरण मात्र होइन, आत्मिक शक्ति पनि प्रदान गर्छ,’ आचार्यले थपे।
दशैंका नौं दिनमा नवदुर्गाको पूजा गरिन्छ। दुर्गाका विभिन्न स्वरूपहरूमध्ये शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीलाई विशेष गरी नवरात्रमा स्मरण गरिन्छ।
गुरु रविन्द्र आचार्यका भनाइमा, जमरा प्रकृतिसँग जोडिएको प्रतिक हो । यव अर्थात् जौ भगवान भोलेनाथको स्वरूप मानिन्छ भने तिल भगवान विष्णुको, त्यसैले घटस्थापनामा राखिएको जौलाई भगवतीको सान्निध्यमा पूजा गरिन्छ।
‘शिव र शिवाको पूजा सँगसँगै हुन्छ, जहाँ शिव हुन्छन् त्यहाँ दुर्गा अर्थात् शिव पनि अनिवार्य हुन्छिन्,’ उनी भन्छन्।
नवरात्रमा गरिएको जमरा रोपण केवल कृषिसँग सम्बन्धित मात्र नभइ देवीको उपस्थितिको प्रतिक मानिन्छ । त्यसैले नवमीसम्म निरन्तर पूजापाठ गरी त्यसलाई महाप्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहँदै आएको छ।
जमरा र टीकाको परम्परा वेद–पुराणसँग जोडिएको पाइन्छ । हिन्दू धर्मग्रन्थमा दशैंलाई देवी दुर्गाले महिषासुर नामक राक्षसविरुद्ध प्राप्त गरेको विजयको प्रतिकका रूपमा वर्णन गरिएको छ । रामायणमा भगवान् रामले दुर्गा भवानीको आराधना गरी रावणलाई पराजित गरेको कथासँग पनि विजयादशमीको सम्बन्ध जोडिन्छ।
प्राचिन समयमा राजा–महाराजाहरूले युद्धमा विजय पाएपछि प्रजाहरूलाई टीका र जमरा लगाइदिने चलन रह्यो । यसलाई विजयको घोषणा गर्ने र सबैलाई एकतामा बाँध्ने माध्यमका रूपमा उपयोग गरिन्थ्यो। यही संस्कार क्रमशः पारिवारिक र सामाजिक परम्परामा रूपान्तरण हुँदै आएको हो।
जमरालाई केवल धार्मिक दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । वैद्यहरूको भनाइअनुसार, जमराको जुस पिउनाले शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जमरा पहेंलो हुने कुरा पनि वैज्ञानिक दृष्टिले रोचक छ । पहेंलो रंगले परिपक्वता र तयारीको संकेत गर्छ।
आचार्यका अनुसार, ‘जमरा पहेंलो देखिनु भनेको सफलता र सिद्धिको प्रतिक हो र यो प्रकृतिको प्राकृतिक संकेत हो । जुन हाम्रो संस्कृतिमा आध्यात्मिक अर्थसँग जोडिएको छ।’
दशैंको टीका र जमराले परिवार, आफन्त र समाजलाई एकतामा बाँध्ने काम गर्छ । मान्यजनबाट टीका र जमरा ग्रहण गर्दा आशिर्वादका शब्दहरू उच्चारण गरिन्छ । ‘लक्ष्मी बास गरून्, दुर्गा द्वारमै रहून्, सरस्वती वाणीमा बसून्, काली साथमा रहून्, पिर–चिन्ता टाढा रहून्।’
यसरी दिएको आशिर्वादले पारिवारिक स्नेह, आशीर्वचन र सकारात्मक ऊर्जा पीढी दरपीढी हस्तान्तरण हुन्छ। यही कारण दशैंलाई पारिवारिक मेलमिलापको पर्व पनि भनिन्छ । ग्रामीण भेगमा अझै पनि जमरा खेती र कृषिसँग गाँसिएको प्रतिक मानिन्छ। घरमा अन्न–धान राम्रो फलोस् भन्ने विश्वासका साथ जमरा राख्ने चलन रहँदै आएको छ।
विजयादशमीको टीका लगाउने साइत पञ्चाङ्गमा उल्लेख भए पनि सबैका लागि बिहानदेखि बेलुकासम्म जुनसुकै समयमा टीका थाप्न मिल्छ भन्ने विश्वास छ । राष्ट्र प्रमुखले तोकेको साइतलाई औपचारिक रूपमा अनुसरण गरिए पनि साधारण जनजीवनमा आफूलाई अनुकूल समयमा टीका थाप्ने चलन व्यापक छ । मान्यजनले टीका र जमरा लगाइदिँदा सँगै दिइने आशिर्वाद मात्र शब्द नभई सकारात्मक ऊर्जाको सञ्चार मानिन्छ।
यसरी जमरा र टीकाको परम्परा धार्मिक आस्था, सामाजिक एकता र वैज्ञानिक तथ्य सबैसँग गाँसिएको छ । दशैंको दसौं दिन टीका र जमरा ग्रहण गर्नु केवल एउटा संस्कार मात्र होइन, त्यो विजयको उत्सव हो, आत्मबलको प्रतिक हो, परिवार र समाजलाई अझ नजिक ल्याउने अवसर हो।
आजको आधुनिक युगमा पनि दशैंको टिका र जमरा संस्कृतिको गहिरो जरा भएर कायम छ । यसले नेपाली समाजलाई आफ्नो मौलिकता सम्झाउने मात्र होइन, एक आपसमा सद्भाव र एकतामा बाँध्ने शक्तिशाली सूत्रको काम गरिरहेको छ।












![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/coer-1771128930.jpg)