रास्वपा बैठकमा उठ्यो पार्टी पुनर्गठनको आवाज
बैठकमा रास्वपा नेता परियारले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताउँदै मंसिरमा अर्ली महाधिवेशन वा महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
काठमाडौं, असोज ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पार्टी पुनर्गठनको आवाज उठेको छ।
रास्वपा नेताहरुले नै राजनीतिक, सांगठानिक र वैचारिकसाथै अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव गरेका गरेका छन् । विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै रास्वपामा यस्तो प्रश्ताव गरिएको हो।
मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरू सन्तोष परियार, पुकार बम, गणेश कार्की लगायतले यस्तो प्रस्ताव गरेका हुन्।
बैठकमा रास्वपा नेता परियारले पार्टीमा रूपान्तरण आवश्यक रहेको बताउँदै मंसिरमा अर्ली महाधिवेशन वा महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जान सहज हुने आँकलनसहित यस्तो प्रस्ताव गरिएको हो । रास्वपालाई पुनर्गठन गर्ने र छरिएर रहेका वैकल्पिक शक्तिलाई पनि एकीकृत गर्नुपर्ने प्रश्ताव परियारले राखेका छन्।
जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले परिवर्तित सन्दर्भमा बनेको सरकार, भदौ २३ र २४ को जेनजी आन्दोलन, आन्दोलनमा उठेका मागलगायतका बिषयमा आआफ्ना धारणा राखेका छन्।
सोही अनुसार पार्टीले रणनीति बनाउनुपर्ने भनाई केन्द्रीय सदस्यहरुको रहेको जनाइएको छ । बाँकी सदस्यहरूले आफ्ना धारणा राखेपछि वैठक आज सकिने बताइएको छ ।












