कांग्रेस केन्द्रीय सदस्य रुंगटाको घरमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु
जेनजी आन्दोलनका क्रममा आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।
वीरगन्ज, असोज ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगन्जस्थित घरमा आगजनीमा परी गम्भीर घाइते भएकी घरेलु महिला कामदारको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ।
जेनजी आन्दोलनका क्रममा आगलागीमा परी गम्भीर घाइते भएकी ४५ वर्षीया शोशिला देवी हजराको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो। उनको शरीरको ५० प्रतिशत भाग जलेको अवस्थामा अस्पताल ल्याइएको थियो।
आगलागीको समयमा घरभित्र काम गरिरहेका मजदुरहरू फसेका थिए। स्थानीयको सहयोगमा अधिकांश मजदुरलाई सकुशल बाहिर निकालिए पनि हजरालाई बाहिर निकाल्न ढिलाइ भएको थियो।
हजरा रुंगटाको घरको दोस्रो तल्लामा फसेको प्रहरीले जनाएको छ। उनको सुरुमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन कठिनाई भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको थियो।
हजरासँगै रुंगटाकै घरमा जलेर गम्भीर घाइते भएका भारतको बिहार राज्य, सुगौलीका १८ वर्षीय विनय यादवको पनि कीर्तिपुर बर्न अस्पतालमै उपचार चलिरहेको छ।
उनको पनि शरीरको ५० प्रतिशत भाग जलेको छ। यादवको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ।











-ink-1744291933.jpeg)
