एक वर्षमा १३७ भ्रष्टाचारका मुद्दा दायर, ६ अर्ब बढी बिगो माग
गत वर्ष ९ सय ४७ फाइलमा विस्तृत अनुसन्धान सकिएको आयोगले जनाएको छ। तीमध्ये १ सय ३७ मुद्दा विशेष अदालतमा दायर गरिएको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौं, २५ असाेज ६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा १ सय ३७ वटा भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर गरिएको छ। भ्रष्टाचारका मुद्दामा प्रतिबादीबाट ६ अर्ब १ करोड ८४ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।
आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अनुसार एक वर्षमा ३७ हजार २६ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका थिए । गत वर्ष ९ सय ४७ फाइलमा विस्तृत अनुसन्धान सकिएको आयोगले जनाएको छ। तीमध्ये १ सय ३७ मुद्दा विशेष अदालतमा दायर गरिएको प्रतिवेदनमा उल्लेख छ।
भ्रष्टाचारजन्य कसुरमा १ सय ३५ वटा र सम्पती शुद्धीकरण कसुरमा २ वटा गरी १ सय ३७ वटा मुद्दा अदालतमा दायर गरिएको हो। भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन्। गैरकानूनी लाभ हानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तीको हानि नोक्सानीसम्बन्धी २४ वटा, गैरकानूनी सम्पती आर्जनसम्बन्धी ८ वटा र विविध विषयका ४ वटा मुद्दा रहेका छन्।
भ्रष्टाचारका मुद्दामा सात सय ५३ प्रतिवादीमाथि कारबाही माग गरिएको छ। जसमा राष्ट्रसेवक कर्मचारी ३९२, निर्वाचित जनप्रतिनिधि ४८ र राजनीतिक नियुक्तिसम्वन्धी १८ छन्। आयोगमा दर्ता भएका उजुरीमध्ये ५३.८४ प्रतिशत स्थानीय तहसम्बन्धी, ३३.६९ प्रतिशत संघीय निकायसम्बन्धी र १२.४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन्।
प्रदेशगत रुपमा सबैभन्दा धेरै उजुरी वागमती प्रदेशमा परेका छन्। जसअनुसार वागमतीमा ११ हजार दुई सय ७७ वटा उजुरी दर्ता भएका छन्। सबैभन्दा कम गण्डकी प्रदेश २ हजार ४ सय १३ वटा दर्ता भएका छन्।
प्रतिवेदन अनुसार प्रारम्भिक छानबिनमार्फत २९ हजार ७०३ उजुरी फछ्र्यौट भएका छन्। यी उजुरीमध्ये नौ सय २७ वटा विस्तृत अनुसन्धानकाक्रममा छन्। ति उजुरीमध्ये १७ हजार १ सय ३० उजुरी तामेलीमा राखिएको छ। विशेष अदालतमा दर्ता भएका ३ सय ९३ मुद्दामध्ये करिव ५३ प्रतिशतमा कसुर कायम भएको छ।
विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै २ सय ५१ वटा मुद्दाको बिषयमा आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सर्वोच्च अदालतले गरेको फैसलामा समेत चित्त नबुझेको भन्दै आयोगले सोही अदालतमा ५ वटा पुनरावलोकन निवेदन दिएको छ।











-ink-1744291933.jpeg)
