रास्वपा रूपान्तरण गर्नका लागि तोसिमाको माग
उनले पार्टीका संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै जेनजी आन्दोलनले ल्याएको नयाँ परिस्थितिको सामना गर्न पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी हुन् । डा.कार्कीले आफ्नो पत्रमा हालै सम्पन्न जेनजी आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा समेत दिएकी छन्।
काठमाडौँ, असोज ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा ‘रिफर्मेसन’ (रूपान्तरण) को माग गर्दै एक पत्र लेखेकी छन् ।
उनले पार्टीका संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै जेनजी आन्दोलनले ल्याएको नयाँ परिस्थितिको सामना गर्न पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी हुन् । डा.कार्कीले आफ्नो पत्रमा हालै सम्पन्न जेनजी आन्दोलनलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा समेत दिएकी छन्।
उनले तत्कालीन सरकारको नृशंस दमनका कारण ७२ जनाको निधन भएको र हजारौँ घाइते भएको उल्लेख गर्दै अहिले नेपाल गम्भीर सङ्कटको दोसाँधमा उभिएको बताएकी छन्। उनले भनिन्– ‘देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो।’
यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक रहेको उनको भनाइ छ। पार्टीको नेतृत्व, सिद्धान्त र कार्यक्रमको पुनःमूल्यांकन गरी आजको समयले खोजेको मध्यमार्गी राजनीतिक शक्ति निर्माणको प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्।