अध्यक्ष सिके राउतको राजीनामा माग्ने जनमत पार्टीका ६ जना नेताले छाडे पार्टी
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले अध्यक्ष राउतको राजिनामाका लागि बिहीबार २४ घण्टे अल्टिमेटम दिएका थिए। उनीहरुले अध्यक्षसँगै सङ्गठन विभाग प्रमुख जयकान्त राउतको पनि राजिनामा मागेका थिए।
काठमाडौं, असोज २ : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिने ६ जना नेताहरु आफैंले राजिनामा दिएका छन्।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा ६ जना नेताले अध्यक्ष राउतको राजिनामाका लागि बिहीबार २४ घण्टे अल्टिमेटम दिएका थिए। उनीहरुले अध्यक्षसँगै सङ्गठन विभाग प्रमुख जयकान्त राउतको पनि राजिनामा मागेका थिए।
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।
पार्टी अध्यक्ष राउतको राजीनामा माग गरेका उनीहरूले २४ घण्टा नबित्दै राजीनामा दिएका हुन्।
‘हामीले माग गरेको राजीनामापत्रलाई तपाईंले अपहेलना गरी जेन्जी पुस्ताले बगाएका रगतको अपमान गरी उल्टै नेता–कार्यकर्ताहरूलाई अहंकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरिसकेपछि हाम्रो ध्यानाकर्षण भएको छ। त्यसैले आधार मानी आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा गर्दछौँ,’ राजीनामापत्रमा उल्लेख छ।
उनीहरुले कुनै प्रकारको पद स्वार्थको राजनीतिमा सामेल नहुने पनि स्पष्ट पारेका छन्। जनभावना तथा नयाँ पुस्ताको चाहनाअनुरूप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।












