संविधान बच्यो, अब चुनावको विषयलाई प्राथमिकतामा राख्नुपर्छ : राष्ट्रपति
नागरिक समाजका अगुवाहरुले पनि अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले यो भन्दा दायाँबायाँ नलाग्नका लागि सचेत गराउन अनुरोध गरेका छन्।
काठमाडौं, असोज २ : राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि जटील अवस्थामा परिस्थिति सम्हाल्दै यो अवस्थामा आएको बताउँदै अब चुनावको विषय प्राथमिकतामा रहनुपर्ने बताएका छन्।
नागरिक समाजका अगुवाहरूसँग बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो भनाई राखेका हुन्। नागरिक समाजका अगुवाहरुले पनि अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले यो भन्दा दायाँबायाँ नलाग्नका लागि सचेत गराउन अनुरोध गरेका छन्।
राष्ट्रपति पौडेललाई भेटेर नागरिक समाजका अगुवाहरुले ज्ञापन पत्र समेत बुझाएका छन्। भेटमा पुगेका एक नागरिक समाजका प्रतिनिधिले बताए अनुसार राष्ट्रपतिले चुनावका अत्यावश्यक बाहेक अन्य प्रकारका कुनै अध्यादेशहरु आए आफूले नस्विकार्ने बताएका थिए।
राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘लोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरु भएकाले उनीहरुको भूमिकालाई न्यूनीकरण गर्ने, दलका विरुद्धमा प्रतिशोध साध्ने र संवैधानिक सरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व र तनाव सिर्जना भई अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्ने छ।’
नागरिक अगुवाहरू महेशकुमार मास्के, मल्ल के. सुन्दर, चण्डेश्वर श्रेष्ठ, परशुराम तामाङ, गीता त्रिपाठी, सुशील प्याकुरेल, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, टीकाराम भट्टराई, जगत देउजा, कनकमणि दीक्षित, राजेन्द्र महर्जन, बिन्दु शर्मा, शरद वन्तले राष्ट्रपति पौडेललाई भेटेका थिए।
ज्ञापनपत्र बुझेपछि राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा यो अवस्था आएको बताउँदै संविधान बचेको र यस्लाई जोगाएर काम गर्नुपर्ने बताएका थिए। नागरिक समाजका अगुवाहरुले छ महिनाभित्र चुनाव गर्न जसरी पनि वातावरण बनाउनुपर्छ भनेर सुझाएका थिए । साथै, उनीहरुले आन्दोलनकारीहरुको मागअनुसार सुशीला कार्की प्रधानमन्त्री बनिसकेकाले अब सरकारले जेनजी आन्दोलनकारीहरु, दलहरु र नागरिक समाजसँग समन्व्यात्मक ढंगले काम गर्न सक्नु पर्ने सुझाव पनि दिएका थिए।
आपसी समझदारी बढाएर विश्वासको वातावरण बनाउन राष्ट्रपतिको महत्वपूर्ण योगदान हुने स्मरण पनि उनीहरुले गराएका छन्। ज्ञापनपत्रमा राजनैतिक दलहरुलाईसमेत शान्तिपूर्ण राजनीतिक संक्रमणमार्फत् लोकतन्त्रलाई सुदृढ गर्न र युवाहरुका न्यायोचित आकांक्षाहरु पूरा गर्न संवेदनशील हुँदै प्रतिनिधिसभाको चुनाव सफल बनाउन अनुरोध गरिएको छ।
भेटमा नागरिक समाजका अगुवाहरुले वर्तमान विषम र असाधारण राजनीतिक संकटको बेला संविधानको रक्षा गर्दै देशलाई अराजकताको दिशातर्फ जानबाट रोकेर दलहरूको समेत सहमतिमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न खेलेको भूमिका सह्रानीय रहेको भन्दै उनीहरुले प्रशंसा पनि व्यक्त गरेका छन्।
‘जे जस्तो परिस्थितिमा पनि चुनावको मिति समेत निर्धारित भइसकेको अवस्थामा संविधानका केही धारामा लागेको यो ग्रहण अस्थायी होस् भन्ने हाम्रो चाहना र कासना रहेको छ’, ज्ञापनपत्रमा उल्लेख छ, ‘उपरोक्त विकसित, घटनाक्रमबाट उत्पन्न विशेष परिस्थितिमा राजनीतिक दल, जेनजी आन्दोलनकारी र नागरिक समाज सबैले चुनाव संम्पन्न गर्न, सहयोग गर्दै संवैधानिक व्यवस्थालाई यथावत रुपमा क्रियाशील गराउनु सबै नेपालीको दायित्व हुन पुगेको छ।’












