Kathmandu Press

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेको छन्। 
प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं, असोज २ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार टेलिफोन वार्ता भएको छ।

टेलिफोन वार्ताकाक्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

मोदी स्वयम्ले सामाजिक सञ्जाल एक्समार्फत् उक्त जानकारी दिएका छन्। मोदीले भनेका छन्, ‘शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुनः व्यक्त गरेँ।’ 

मोदीले सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै यसअघि पनि बधाई दिइसकेका थिए। टेलिफोन वार्ताको सन्दर्भ उल्लेख गर्दै कुराकानी आत्मीय भएको मोदीले बताएका छन्। मोदीले प्रधानमन्त्री कार्कीसँगको कुराकानीमा जेनजी युवा आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गरेको छन्। 

मृतकका परिवारमा समवेदना पनि प्रकट गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुःखद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ।’ 

साथै मोदीले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना पनि दिएका छन्।


 

प्रकाशित मिति: १३:३८ बजे, बिहीबार, असोज २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्