Kathmandu Press

पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै बताउँदै उनले राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बन्न आग्रह गरेका छन्। 
पुरानो राज्य प्रणाली यथावत राखेर निकास सम्भव छैन : विप्लव

काठमाडौं, भदौ ३१ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकार विद्यमान समस्याको समाधान नभएको बताएका छन्। 

विज्ञप्ति जारी गर्दै विप्लवले जेन–जीले गरेको विद्रोहपछि जेन–एक्सको सरकार बनेको भन्दै यो समस्याको समाधान नभएका बताएका हुन्।

Hardik ivf

विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति बिरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन्। यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ। 

‘हामीले पहिले नै स्पष्ट गरेका थियौं कि अन्तरिम सरकार आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्दछ। विभिन्न क्षेत्रबाट यो सुझाब नपुगेको होइन। परन्तु यसलाई जाना–जान प्रवेश गराइएन या बेवास्ता गरियो, जेन जीलाई सम्बोधन गर्दै सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ। परन्तु यसमा गैर–दलीय, गैर–वामपन्थी सोचले काम गरेको देख्न सकिन्। यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ। जनताले पनि स्वीकार्ने छैनन्।’

पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव नभएको भन्दै विप्लवले अगाडि भनेका छन्, ‘वर्षौंदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरुलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु होइन संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र हो। हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो। पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन।’

अबको विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै बताउँदै उनले राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बन्न आग्रह गरेका छन्। 

उनले देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न आग्रह गरेका छन्। उनले आफ्नो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने बताएका छन्। 
 

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्