जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा
‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ। सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ। कांग्रेस पार्टीको जिम्मेवारी हो किनभने राष्ट्रिय शक्ति हो। त्यसकारण म पार्टीका साथीहरुलाई आह्वान गर्छु। जो जहाँ हुनुहुन्छ आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने।-1743858424.png)
काठमाडौं, भदौ २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरुको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली कांग्रेस पार्टी जेनजीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए।
‘यो बेला जेनजी आन्दोलनकारी साथीहरुले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ। अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ। आन्दोलन गर्ने साथीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली कांग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको छ,’ उनले भने।
यस्तै, उनले कांग्रेस पार्टीमा रहेका सबै कार्यकर्ताहरुलाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरेका छन्।
‘अहिले नेपाललाई एउटा हिलिङ चाहिएको छ। सबैलाई जोड्ने एउटा पहलकदमी चाहिएको छ। कांग्रेस पार्टीको जिम्मेवारी हो किनभने राष्ट्रिय शक्ति हो। त्यसकारण म पार्टीका साथीहरुलाई आह्वान गर्छु। जो जहाँ हुनुहुन्छ आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गर्न चाहन्छु,’ उनले भने।
उनले भदौ २३ र २४ गते भएको घटनाबाट आकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए।
‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो। तपाईं र म सरकारमा थिएनौं । तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ। ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ,’ उनले भने, ‘कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षती भएको छ जसको कसैले आकलन गर्न सक्दैन।’
-1760269022.jpg)











