जेनजीलाई गगन थापाकाे अपिल– संविधानको निरन्तरताबारे ख्याल गर्नुस्
उनले लामो संघर्षपछि संविधान बनाउन सफल भएको चर्चा गर्दै यो संविधान जोगाएर त्यसभित्र आवश्यक आमूल परिवर्तन गर्न आग्रह गरेका छन्।
काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा संविधानलाई टेकेर समाधान खोज्नु पर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले संविधानभन्दा पर गएर समाधान खोजियो भने केही समयपछि सम्हाल्न नसकिने अवस्था आउने बताएका छन्। थापाले संविधानको निरन्तरताबारे ख्याल गर्न र जोखिमको अवस्था आउन नदिन जेनजी पुस्तालाई अपिल गरेका छन्।
उनले लामो संघर्षपछि संविधान बनाउन सफल भएको चर्चा गर्दै यो संविधान जोगाएर त्यसभित्र आवश्यक आमूल परिवर्तन गर्न आग्रह गरेका छन्। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर संविधान बनाइएको बताएका छन्।
‘मेरो एउटा अनुरोध छ, २०६२–६३ को आन्दोलनबाट एउटा नयाँ संविधान बन्यो। यो संविधान बन्ने बाटो सजिलो थिएन। यो बीचमा हामीले धेरै कुराहरू भोगेका छौं। हामीले गृहयुद्ध भोग्यौं। ठूलो जातीय युद्ध भोग्यौं। नेपालभित्र आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला थुप्रैका माग मुद्दामा सन्तुलन मिलाएर बनाएको संविधान हो यो। एउटा सन्तुलन खोजेर बनाइएको संविधान हो यो,’ उनले भिडियोमा भनेका छन्, ‘अहिले कोही बोलेको छैन। तर, आफ्ना अधिकारहरू खोसियो भन्ने पर्यो भने फेरि सबैले बोल्ने अवस्था आउँछ। कसैले सम्हाल्न सक्दैनौं हामीहरूले। त्यसैले संविधानको निरन्तरताबारे तपाईंहरूले ख्याल गर्नैपर्छ।’
उनले सरकार निर्माणमा सहभागी हुन, जेनजी आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
