भण्डारीलाई राजनीतिमा आउन संविधानले रोक्दैन, पार्टी विधानले रोकेर हुँदैन : पाण्डे
‘राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था छ । तर, संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन।’
काठमाडौँ, भदौ १६ : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टीको राजनीतिमा आउन संविधानले कतै नरोकेको बताउँदै सक्रिय बनाउन सफल हुने बताएका छन्।
काठमाडौँमा सोमबार आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले यस्तो भनाई राखेका हुन्। संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको भन्दै नेता पाण्डेले स्पष्ट पारे।
‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन। संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन,’ पाण्डेले भने, ‘राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था छ । तर, संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन।’
उनले संविधानले नै नरोकेको विषयमा कुनै पार्टीले विधान बनाएर रोक्न नमिल्ने पनि बताए। कुनै पनि बहानामा कसैलाई पनि सदस्य बन्नबाट रोक्न नपाइने पाण्डेको भनाई थियो।
पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काउँदैमा तत्कालै नेतृत्वमा पुग्ने भन्ने भ्रम नफैलाउन पनि उनले आग्रह गरे।
उनले भने, ‘पार्टीमा लाग्दैमा कोही अध्यक्ष भइजान्छ भन्ने हुँदै ।’ एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको छ ।



-1771243509.jpg)








