रुपन्देही कारागारले भन्यो– रविलाई विभेद गरिएको छैन, स्रोतले भ्याएसम्म सुविधा दिइएको छ
कारागार प्रशासनका अनुसार स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा बिरामी बन्दीको आवश्यकताअनुसार स्थानान्तरण गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आइएको छ।
रुपन्देही, साउन २९ : रुपन्देही कारागार प्रशासनले पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुरुदेखि नै टेलिफोन र भेटघाट गर्ने सुविधा दिइएको स्पष्ट पारेको छ
कारागार प्रशासन्ले लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गरी सुरुआतदेखि नै छुट्टै कोठामा राखिएको बताएको छ।
रुपन्देही कारागारले विगत केही दिनयता यो कारागारमा रहेका बन्दीहरूले प्राप्त गरेका सेवा सुविधाका विषयमा विभिन्न सञ्चारमाध्यम र अन्य क्षेत्रबाट प्रश्नहरु उठाइएको सन्दर्भमा बिहीबार विज्ञप्ति जारी गर्दै लामिछानेको जेलको अवस्थाबारे प्रश्ट गरेको हा । बाहिर उठाइएका विवादका विषयहरुमा गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ।
‘उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको छ। उक्त कोठाको झ्यालमा साबिकमा रहेको प्लाइउड हटाई जाली राखी सकिएको छ। निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,’ कारागारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कारागार प्रशासनका अनुसार स्थानीय अस्पताल र चिकित्सकको सिफारिसमा बिरामी बन्दीको आवश्यकताअनुसार स्थानान्तरण गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आइएको छ।
रुपन्देही कारागारमा कुल २५० बन्दी राख्ने क्षमता रहे पनि हाल ६४० बन्दी रहेको स्विकारोक्ति पनि कारागार प्रशासनले गरेको छ । क्षमताभन्दा साढे दुई गुणा बढी बन्दी रहेको अवस्थामा समेत सेवा सुविधा समयमा नै उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ।
साथै, कारागारको भौतिक संरचना र क्षमताअनुसार बन्दीहरूलाई खाने, बस्ने, हिँडडुल गर्ने, पढ्ने (विद्यालय शिक्षा÷पत्रपत्रिका), टेलिभिजन हेर्ने र आफन्तलाई भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराउँदै आएको समेत स्पष्ट गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘थप सुविधा उपलब्ध गराउने सम्बन्धमा कानुनबमोजिमका सकारात्मक विभेदबाहेक बन्दीहरूको बीचमा अन्य विभेद गरिएको छैन।
कारागार प्रशासनको तर्फबाट समय–समयमा कारागारभित्रको वस्तुस्थिति अवलोकन गर्ने, बन्दीहरूका गुनासो सुन्ने र स्रोतसाधनले भ्याएसम्म त्यसको सम्बोधन गर्ने कार्य गरिँदै आएको छ,’ भनिएको छ।



-1765194974.jpg)





-1765194974.jpg)


