पर्यटन विभागका तत्कालीन निर्देशक यादवमाथि ‘अकुत सम्पत्ति’को मुद्दा
यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा विभिन्न शीर्षकबाट २ करोड ६८ लाख १८ हजार नौ सय रुपैयाँभन्दा बढी आय आर्जन गरेको अनुसन्धानमा देखिएको छ।
काठमाडौँ, साउन २९ : पर्यटन विभागका तत्कालीन निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध झण्डै १ करोड रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध गैरकानूनी सम्पत्ति (अकुत) आर्जन गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यादवले २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको अवधिमा विभिन्न शीर्षकबाट २ करोड ६८ लाख १८ हजार नौ सय रुपैयाँभन्दा बढी आय आर्जन गरेको अनुसन्धानमा देखिएको छ।
उक्त रकममध्ये पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा, हिमाल आरोहण सम्पर्क अधिकृत भई पाएको रकम, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कर्मचारी सञ्चय कोष, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज तथा शेयर बिक्रीबाट प्राप्त रकमसमेत समावेश गरिएको छ।
अख्तियारको अनुसन्धानबाट यस अवधिमा घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, जीवन बीमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख चार हजार चार सय ५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको भेटिएको छ।
उनले कुल ९६ लाख ८५ हजार पाँच सय ५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि गर्न नसकेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हा । यादवले पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको दाबी अख्तियारको छ।
यादवबाट भ्रष्टाचार बापतको बिगो र जेल सजायको मागदाबी अदालत समक्ष गरिएको छ।
गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको भन्दै सम्पत्ति जफतको प्रयोजनका लागि उनलाई समेत भ्रष्टाचार मुद्दामा प्रतिबादी बनाईएको छ।












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)