Kathmandu Press

संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले उनले जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य गलत रहेको बताए। 
संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी ओलीले संसद राष्ट्रिय प्राथमिकताका विषय उठाउने थलो नभई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा उठाएका कतिपय विषय राष्ट्रिय आवश्यकतामा आधारित नभएको बताएका हुन्।

‘आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन्। देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ,’ उनले भने, ‘के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो? पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि!’ 

प्रधानमन्त्री ओलीले उनले जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाएका व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने भाष्य गलत रहेको बताए। 

‘लाखौं जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ, अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ।’

उनले अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको भन्दै प्रश्न समेत गरे। 

‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो? त्यो चाहिँ कानुनी कारवाही हो? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो? कुन–कुन व्यक्तिमाथिको थुना जायज हो?’ उनले भने। 
 

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, साउन २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्