घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई पदमुक्त गर्न एमाले कास्कीको माग
घुस प्रकरणमा छानबिनमार्फत सफाई नपाउँदासम्म पदमुक्त गर्न एमाले कास्कीको माग छ।
कास्की, साउन ३ : एमाले कास्कीले १३५ रोपनी लिची बगैंचा कब्जा गर्ने योजनाको घुस ‘डिल’ प्रकरणमा मुछिएका भुमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई राजीनामा दिलाएर छानबिन गर्न माग राखेको छ।
शनिबार पोखरामा आयोजित जिल्ला कमिटीको विस्तारित बैठकमा यस्तो माग गरिएको हो। कास्की एमालेले उक्त प्रस्ताव नै एकमतले पारित गरेको छ।
पार्टीका जिल्लास्थित केन्द्रीय सदस्य, पदाधिकारी र अधिकांश सदस्यले प्रश्तावमा हस्तक्षर गरेको जनाइएको छ। घुस प्रकरणमा छानबिनमार्फत सफाई नपाउँदासम्म पदमुक्त गर्न एमाले कास्कीको माग छ।
यस्तै, पोखरा–१६ मा रहेको १३५ रोपनी लिची बगैचा कब्जा योजनामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याई कारबाही गर्न माग गर्ने निर्णय समेत गरिएको छ । विस्तारित भेलाले सर्वसम्मत गरेको निर्णय पार्टीको उपल्लो तहमा जानकारी गराइने भएको छ।
उक्त विस्तारित बैठकमा एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापा, चुडामणि जंगली, प्रभा कोइराला, सल्लाहकार दीलबहादुर नेपाली, सिर्जना शर्मा, सुर्य खड्का बिखर्ची, प्रतिनिधीसभा सदस्य दामोदर पौडेलसहित एमाले कास्कीको जिल्ला कमिटी, कास्कीमा रहेका ५ वटा स्थानीय तह कमिटी र ३ वटा विशेष कमिटीका पदाधिकारी सहभागी रहेको जनाइएको छ ।












