Kathmandu Press

तरकारीखेतीबाटै टोलकै महिला आत्मनिर्भर

महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्। यसबाट हुने आम्दानीले आफुहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ। 
तरकारीखेतीबाटै टोलकै महिला आत्मनिर्भर

टीकापुर, साउन ३ : टीकापुर नगरपालिका–३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन्। दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन्। 

आजभोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन्। महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती गरेका छन्। यसबाट हुने आम्दानीले आफुहरु सन्तुष्ट भएको उनीहरुको भनाइ छ। 

समूहका सदस्य देशरानी चौधरी आफूहरु तरकारीखेतीबाट स्वरोजगार बन्नुका साथै आम्दानी लिन सफल भएका र यसले आर्थिक समस्या टार्न सहयोग मिलेको बताउँछिन्। उनीहरुले उत्पादन गरेको तरकारी टीकापुर, लम्की, अत्तरिया बजारदेखि अन्य छिमेकी बजारमा जाने गरेको छ। 

Hardik ivf

कतिपय तरकारी बिक्रेताहरू बारीमै तरकारी किन्न पुग्छन्। खेतमा काम समूहका महिलाले मिलेर गर्छन्, खनजोत लगायतका काम गर्न मजदुरी लगाउने गरेका देशरानीको भनाइ छ। 

एक वर्षमा तीन बाली सागसब्जी लगाउने उनीहरूले एक याममा प्रतिव्यक्ति एक लाखसम्म आम्दानी लिने गरेका देशरानीले बताउँछिन्। धान, गहुँ खेती गर्नुभन्दा तरकारीबाट राम्रो भइरहेको उनीहरु बताउँछन्। 

समूहमा आबद्ध भएका महिलाहरूले तरकारीखेतीसँगै बाख्रापालन पनि गरिरहेको छन्। 

‘हामी हरेक महिलासँग तीनदेखि सात वटासम्म बाख्रा पनि छन्, तरकारी लगाउँदा घाँसको समस्या हुँदैन, बाख्रापालनबाट आम्दानी ठीकै भएको छ,’ समूहकी अध्यक्ष मीना चौधरी भन्छिन्।

यसअघि अधिकांश महिला घर खर्च चलाउन ज्यालादारी गर्थे । परम्परागत रुपमा आफूलाई खानका लागि खेती गर्ने यी महिलालाई सिँचाइ आयोजनाले प्रोत्साहन गरेपछि उनीहरू व्यावसायिक बनेका हुन्। 

महिलाहरूले साजसब्जी खेती, बाख्रापालन, समूह परिचालनसँगै सामाजिक काम पनि गर्दै आएका छन् । उनीहरू समूहमा हरेक महिनाको छलफलमा समुदायका समस्याबारे छलफल गर्छन्।

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, साउन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्