नेपाली कला अनलाइनमार्फत प्रदर्शन हुँदै
काठमाडौं, वैशाख २८ : कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरण गर्न जारी लकडाउनको कारण कलाकारहरुको सिर्जना घरमा भित्रै सिमित बन्न पुगेको छ। ग्यालरीमा शोभामान....

काठमाडौं, वैशाख २८ : कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरण गर्न जारी लकडाउनको कारण कलाकारहरुको सिर्जना घरमा भित्रै सिमित बन्न पुगेको छ। ग्यालरीमा शोभामान भएर राखिनुपर्ने कलाकारिता घरमै थन्काउन परेपछि कलाकार एनबी गुरुङले कला संकलन गरेर अनलाइनमार्फत प्रदर्शन गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय जलरङ्ग समाजका अध्यक्ष समेत रहेका गुरुङले कलाकारहरुको कलालाई संकलन गरेर अनलाइनमार्फत प्रदर्शन गर्ने तयारीमा जुटेको बताए। अनलाइनमार्फत चित्रकला प्रदर्शन गर्दा नेपालको कलाकारिता कुन तहसम्म रहेछ भन्नेबारे अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रतिक्रिया आउने उनको अपेक्षा छ।
नेपालको सिनियर तथा जुनियर कलाकारहरुको कला संकलनको लागि उनले फेसबुकबाटै आफ्नो कला पठाउन कलाकारलाई आवहान गरेका थिए। जसमा ९० जना कलाकारको कला संकलन भइरहेको उनी बताउँँछन्।
प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्य, उपकुलपति गोपाल चित्रकार तथा समिक्षक मुकेश मल्ल र राधेश्याम मूली, यादनेचन्दन भूर्तेल, आलोक गुरुङ, डिराम पाल्पालीलगायतका कलाकारको चित्र रहेको छ।
संकलित चित्रबाट ५० वटा चित्रलाई छनोट गरी भर्चुअल साउण्डको साथमा प्रदर्शनमा राखिने छ। एनबी आर्ट टेक्निकल स्डियोको युट्युब च्यानलमार्फत चित्रकला अवलोकन गर्न सकिनेछ । जेठ महिनाको पहिलो साताबाट सुरु हुने प्रदर्शन एक महिना सम्म चल्नेछ।












