Kathmandu Press

‘प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो?’ 

‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ। चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो।’
‘प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो?’ 

काठमाडौं, असार ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (रााप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारले अघि सारेको सुशासनको नारा ‘छट्टु स्यालको कथा’ बनेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोगको अवस्था के भएको हो भन्ने प्रश्न उठाउँदै सरकारमाथि गम्भीर प्रश्न खडा गरे । ‘कता छ प्रधानमन्त्रीको सुशासन आयोग? आज जनता र देशले त्यसलाई खोजिरहेको छ,’ उनले भने।

Hardik ivf

लिङ्देनले पछिल्ला दिनमा मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको विवरण सार्वजनिक भइरहेपनि कुनै नैतिक जवाफदेहिता नदेखिएको भन्दै असन्तुष्टि जनाए।

‘यदि नैतिकता छ भने, यदि सुशासनप्रति अलिकति पनि प्रतिवद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन?’ उनले प्रश्न गरे। 

सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ। चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो।’

लिङ्देनले सत्ता गठबन्धनका दुई ठूला दलले मिलेर मन्त्रिपरिषद् बसेर देश लुटिरहेको आरोप लगाए। ‘जनताको ध्यान एकातिर लगाएर, सरकार मन्त्रिपरिषद्मा बसेर दुई ठूला ठूला पार्टीहरू मिलेर देश लुटिरहेछन्, जनताले टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ, जुन कदापि सह्य छैन,’ उनले भने।

उनले संसदमा मात्रै होइन, आवश्यकता परे सडकबाट पनि कडा प्रतिवाद गरिने चेतावनी दिए। ‘हामी संसदबाट पनि विरोध गरिरहेका छौं र आवश्यक परे सडकबाट पनि यसको प्रतिवाद गरिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, असार ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्