पढाइलाई उत्पादनसँग नजोडेसम्म मुलुकको उन्नति सम्भव छैन : महासचिव पोखरेल
विज्ञान प्रविधिमा, पूर्वाधारमा जतिसुकै विकास गरे पनि, जस्तोसुकै मोबाइल र ल्यापटप चलाए पनि कृषि उत्पादन भएन भने बाँच्न नसकिने यथार्थतालाई सबैले बुझ्नुपर्नेमा उनले जोड दिए।
काठमाडौं, असार २८ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पढाइलाई उत्पादनसँग नजोडेसम्म व्यक्ति, समाज र राष्ट्रको उन्नति हुन नसक्ने बताएका छन्।
एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको समृद्धि गर्न कोही न कोही उत्पादनमा जोडिनै पर्ने बताएका हुन्।
‘बाबुआमा खेतीपाती गर्ने, पशुपालन गर्ने, छोराछोरी भने पढेलेखेका मान्छेले के खेतीपाती गर्ने, के पशुपालन गर्ने, यस्ता काम त नपढेकाहरूले गर्ने हो भन्ने गलत मानसिकता विकास भएको छ, यो राम्रो होइन,’ उनले भने, ‘लेखपढ गर्नु भनेको ज्ञान आर्जन गर्नु मात्र होइन, जीवनयापनका लागि आफूलाई उत्पादनमा जोडिन सक्ने बनाउनु पनि हो।’
विज्ञान प्रविधिमा, पूर्वाधारमा जतिसुकै विकास गरे पनि, जस्तोसुकै मोबाइल र ल्यापटप चलाए पनि कृषि उत्पादन भएन भने बाँच्न नसकिने यथार्थतालाई सबैले बुझ्नुपर्नेमा उनले जोड दिए। ‘यो यथार्थतालाई अहिलेको पुस्ताले बुझ्न सकेन भने निकट भविष्यमै जीवनका लागि तड्पिनुपर्ने, बाँच्न नै नसकिने अवस्था आउँछ,’ उनले भने, ‘यसकारण पढ्नु भनेको उत्पादनबाट अलग हुनु नभई ज्ञान, सिप, प्रविध सिकेर आफूलाई आधुनिक तरिकाले उप्तादनमा जोड्नु आवश्यक छ । सबै मान्छेले जागिर मात्र खानेतिर लाग्ने हो भने उत्पादन कसले गर्ने?’
विकसित देशहरूमा पढेलेखेका मान्छेहरू नै उत्पादन कार्यमा लाग्ने गरेको विषयलाई सबैले आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो। अबका पिँढी आधुनिक तरिकाबाट उत्पादनसँग जोडिएर जानुपर्ने आवश्यकता उनले औंल्याए।
‘हाम्रा बुवाआमाले पढ्न पाउनुभएन, उत्पादनलाई व्यावसायिक बनाउन सक्नुभएन। निर्वाहमुखी खेती मात्र गर्नुभयो। अब हामीले खेतीपाती गर्ने, पशुपालन गर्ने तरिका बदल्नु जरुरी छ, वागवानीमा नयाँ ढंगले अगाडि बढ्नुजरुरी छ,’ उनले भने।
२००७ सालमा जहानियाँ राणाशासन ढलेपछि मात्र नेपालमा शिक्षा विकासको जग बसेको उनले बताए। प्रजातन्त्र आएपछि पनि पढेलेखेका मान्छ अभाव हुँदा राज्यले धेरै दुःख पाएको सुनाउँदै उनले भने, ‘प्रजातन्त्र आएको सुरुसुरुको बेलातिर मन्त्रिपरिषद्को बैठकपछि माइन्युट लेख्ने मान्छे नभएर भारतबाट झिकाउनुपरेको थियो । न्यायालय सुरु गर्न कानुन जान्ने मान्छे खोजेर भारतबाटै ल्याउनुपरेको थियो । विद्यालय र क्याम्पस पनि भारतलाई गुहारेर सञ्चालन गर्नुपर्ने अवस्था थियो।’
अहिले आफ्ना लागि चाहिने जनशक्ति उत्पादन गर्न राज्य सक्षम भएको उनले बताए। ‘अहिले नेपाललाई चाहिने जनशक्ति शिक्षक–प्राध्यापक, कर्मचारी पेसाकर्मी पर्याप्त उत्पादन भइसकेको छ, यस अर्थमा शिक्षा व्यवस्था सफल पनि रह्यो तर हामीलाई अबको खाँचो भनेको व्यावसायिक तरिकाले उत्पादनमा लाग्ने, समाजलाई नवप्रवर्तनमा जोड्ने, उद्यमशीलतालाई सार्थक बनाउने हो,’ उनले भने।
छात्रछात्रा, शिक्षक, राज्य सबैको मेहनत महत्वपूर्ण रहेकाले यसपटक एसइईमा राम्रो नतिजा आएको उनले बताए । पहिलाको तुलनामा राम्रो भयो भन्दैमा सन्तुष्ट हुने अवस्था पनि नरहेको पनि उनले बताए । उनले विद्यालय शिक्षामा असफल हुने अवस्था सधैंका लागि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए। राम्रो अंक ल्याउने मात्र ठुलो कुरा नभएर भविष्यमा के गर्ने भन्ने सोच निर्माण गर्नु ठुलो कुरा भएको उनले बताए।
अभिभावकले छोराछोरीका जति मेहनत र लगानी गरे पनि पढेलेखेका छोराछोरीको कर्तव्य कम हुँदै गइरहेको पनि उनले सुनाए । अब सबैले आफूलाई कर्तव्यनिष्ठ भएर राष्ट्र निर्माणमा समर्पित गर्नुपर्ने बेला आएको उनले बताए । ‘मुलुकको आर्थिक–सामाजिक विकासका अबका विद्यार्थीले आफूलाई केन्द्रित गर्नुपर्छ । अबका विद्यार्थीले सक्षम जनशक्तिका रूपमा आफूलाई विकसित गर्नुपर्छ । नयाँ सिराबाट राष्ट्रको समृद्धिमा लाग्नुपर्छ,’ उनले भने।
कुनै पनि देशको समृद्धि बाहिरका मान्छे आएर नगरिदिएको बताउँदै उनले नेपालको विकासमा नेपाली नै जुट्नुपर्ने बताए। नेपालका राजनीतिक दलहरूले लामो समय नागरिकको अधिकारका लागि संघर्ष गर्नुपरेको, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, जनअधिकारका लागि लड्नुपरेको सुनाउँदै उनले राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र भएका बेलामा भन्दा अहिले हाम्रो समाज धेरै अघि बढे पनि आत्मनिर्भर भने अझै हुन नसकेको बताए।
‘माछा मासु तरकारी, खाद्यान्नलगायत आयात भइरहेको छ, जुन चिज सजिलै यहीँ उत्पादन हुन सक्छ,’ उनले भने, ‘इजरायलले मरुभूमिमा पनि कृषिको विकास गरेर विश्व बजारमा बेचेको छ। कृषि प्रविधि निर्यात गरेको छ,’ उनले भने, ‘हजुरबा–हजुरआमाले यन्त्र, उपकरण, प्रविधि केही नहुँदा पनि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाए तर आज नयाँ तरिकाले खेती गर्ने अवसर भए पनि हामी त्यसमा विमुख भइरहेका छौं, यस्तो स्थितिलाई बदल्नुपर्छ। अब युवाले आफूलाई रोजगारदाताका रूपमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ।’ कृषिको समुचित उत्पादन हुन नसक्दा युवाहरू देश छाडेर जाने प्रवृत्ति बढेको उनको भनाइ थियो।
कार्यक्रममा शिक्षा तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई बन्द गरेर नभई सरकारी विद्यालयको स्तरोन्नति गरेर अघि बढ्ने नीति सरकारले लिएको बताए।
निजीलाई निषेध गरेर होइन साधनस्रोतहरू सरकारीमा केन्द्रित गरेर अनि गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। संविधानले भनेको अनिवार्य र निःशुल्क शिक्षा पैसावाललाई भन्दा पनि गरिब जनताका लागि आवश्यक रहेको उनले स्पष्ट पारे।
‘यो सुविधा अर्बपतिका छोराछोरीलाई चाहिएको होइपैसावालहरू सामाजिक हैसियत देखाउन थुप्रै पैसा तिरेर रातो बंगला, युलेन्स, सेन्ट जेभियर्सजस्ता महँगा विद्यालयमा छोराछोरी पढाउन चाहन्छन्, पढाऊन्। तर राज्य कसलाई चाहिएको छ त भन्दा गरिबलाई चाहिएको छ। जोसँग केही छैन, उसका लागि राज्य हुनुपर्छ। पैसा तिरेर महँगो स्कुलमा पढ्न नसक्नेहरूलाई पढाउने दायित्व राज्यले लिनुपर्छ।’
संविधानअनुसार मुलुकमा निजी, सहकारी र सरकारी गरी तीनखम्बे अर्थनीति रहेकाले खुलिसकेका निजी विद्यालय बन्द गर्न नमिल्ने धारणा उनले राखे।
‘पहिला कानुन बनाएर निजी विद्यालय खोल् भन्ने, कम्पनीमा जान दिने तर अहिले बन्द गर् भन्ने हो भने त्यो न्यायिक हुँदैन,’ उनले भने, ‘बरु नियमन गर्ने जथाभाबी शुल्क उठाउन नदिने, गुठी या सरकारीमा जान प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ ।’
उनले जे बने पनि आफ्नो इच्छाअनुसार मिल्ने विषय पढ्नुपर्नेमा उनले जोड दिए । अहिले डाक्टर, इन्जिनियर बनेर पनि जागिर नपाइने, जुनसुकै पेसामा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको सुनाउँदै उनले भने, ‘कम्प्युटरको जमानामा, एआईको जमानामा पढ्ने विषय पनि नयाँ–नयाँ रोज्नुहोस् । त्यसो गर्दा कम्तीमा आफूलाई पनि पढ्न मन लागोस् र मुलुकलाई पनि काम लागोस् । परम्परागत ढंगबाट होइन नयाँ ढङ्गबाट सोच्नुहोस्।’
अहिले घरमै बसेर ५०/६० हजारदेखि दुई÷तीन लाख रुपैयाँसम्म कमाउन सकिने अवस्था बनिसकेको बताउँदै उनले भने, ‘विदेशीबाट काम लिएर घरमै बसी आफ्नो ल्यापटपबाट काम गरेर राम्रो आम्दानी गर्न सक्ने अवस्था अहिले बनिसकेको छ । केही वर्षअघिसम्म यस्तो अवस्था थिएन ।’ यस्तो कामबाट वर्षको ६÷७ अर्ब रुपैयाँ भिœयाउन सक्ने अवस्था बनेको भनेर डिजिटल मिडिया क्षेत्रमा काम गर्नेहरूले बताउने गरेको उनले सुनाए।
तर पछिल्ला सातआठ वर्षमा विदेशमा पढ्न जानेहरूले ६ खर्बभन्दा बढी रकम लगेकोमा उनले दुःख व्यक्त गरे । ‘कक्षा १२ पूरा गरेर उच्च शिक्षाका लागि वर्षको एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन्। उनीहरू घरजग्गा धितो राखेर गइरहेका छन्,’ उनले भने।
विदेशमा सबैले राम्रो गर्न नसकिरहेको बताउँदै उनले विदेशमा पढ्न जानेबित्तिकै सबै राम्रो भइहाल्छ भन्नेतिर नलाग्न विद्यार्थी तथा अभिभावकलाई सुझाए। ‘विदेश पढ्न गएकाहरू काम नपाएर, शुल्क तिर्न नसकेर पीडामा परेका छन् । कतिपय विभिन्न खाले दुव्र्यवहारमा परेका छन् भने कतिपय डिप्रेसनमा पुगेका छन्,’ उनले भने।
आफैंले निर्णय लिन सक्ने, जस्तोसुकै परिस्थिति आइपरे पनि सामना गर्ने अठोट लिन सक्ने बनाएर मात्र विद्यार्थीलाई विदेश पठाउनुपर्ने उनको भनाइ थियो । ‘प्रशस्त पैसा छ भने बेग्लै कुरा हो तर जान्छ, पढ्छ, कमाउँछ, तिर्छ भन्नेहरूका हकमा धेरै नै दुःख पाइरहेको अवस्था छ । राम्ररी बुझेर सोचेर मात्र निर्णय लिनुहोला,’ उनले भने।
कक्षा १२ सकेर विद्यार्थी बिदेसिने प्रवृत्तिले नेपालको उच्च शिक्षामा विद्यार्थी अभाव भइरहेको उनले बताए । ‘अहिले राम्राराम्रा कलेजले पनि विद्यार्थी पाउन नसकिरहेको अवस्था छ । कतिपय इन्जिनियरिङ कलेजहरूले समेत विद्यार्थी अभाव बेहोर्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने । कक्षा १२ पूरा गरेपछि विदेश जान मन लागिहाल्ने सोचले देशविकास हुन नसक्ने तर्क उनले गरे।
‘जागिर खोज्ने होइन, देशमै बसेर जागिर दिने मान्छे बन्नुहोस्। देशमा हामी रोजगारीका नयाँनयाँ अवसर सिर्जना गर्छौं भनेर लाग्नुहोस्,’ उनले भने, ‘कुनै बेला सूर्यको किरणबाट बिजुली निकाल्ने भन्दा नपत्याइने अवस्था थियो। कुनै बेला बिजुलीबाट गाडी चलाउनेभन्दा विश्वास गर्न नसकिने अवस्था थियो । तर अहिले यो सम्भव भयो यो सबै शिक्षाको कारण गर्दा हो।’ शिक्षाले अरू धेरै सम्भावनाको ढोका खोलने उनले बताए।
समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका शिक्षाको हुने उनको भनाइ थियो। शिक्षालाई समयानुकूल परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने आवश्यकता उनले औंल्याए। कक्षा १ देखि १२ सम्म वञ्चित नहोस् भनेर मात्र नभई उच्च शिक्षामा पनि योग्य तथा क्षमतावान् मान्छेलाई नियुक्त गर्ने कुरामा सरकारले ध्यान दिएको भन्दै उनले हालै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको उदाहरण प्रस्तुत गरे। ‘उच्च शिक्षामा विज्ञहरूलाई प्रोत्साहित गरेर उच्च शिक्षालाई पनि स्तरोन्नति गर्न चाहन्छौं,’ उनले भने।
कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्त, स्थायी कमिटी सदस्य एवं सम्पर्क समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरीलगायतले एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको अध्यक्ष ठकुरीले बताए । विद्यार्थीलाई सही विषय लिएर अध्ययन गर्न प्रोत्साहित गर्नेलगायत उद्देश्य राखेर हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिँदै आएको उनले जानकारी दिए।
