नवनियुक्त गभर्नर पौडेलले गरे सम्पत्ति विवरण सार्वजनिक
गभर्नर पौडेलले ललितपुरको सैंबुमा एक करोड ५५ लाखको घरजग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन्। यस्तै, उनले चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना देखाएका छन्।
काठमाडौं, असार ११ : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
गभर्नर पौडेलले ललितपुरको सैंबुमा एक करोड ५५ लाखको घरजग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन्। यस्तै, उनले चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना देखाएका छन्।
उनले सुन पैतृक र हिरा स्वआर्जन भनेका छन्। उनको सम्पत्ति विवरण अनुसार सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर रहेको छ।
यसैगरी, सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको छ।
सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवद्र्धक सेयर छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ । ९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता सेयर ग्लोबेको प्रा.लि.को रहेको छ।
संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ।
श्रीमती प्रतिभाको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता सेयर रहेको विवरण पनि पेस भएको छ। पौडेलले श्रीमती शर्माको नाममा सुजुकी कार रहेको विवरणमा देखाएका छन्। कारको खरिद मूल्य ४४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।












