बजेट सन्तुलित रहेको प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद् सन्तुष्ट हुने स्थिति नआएको बताउँदै आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए।copy-1750767516.jpg)
काठमाडौं, असार १० : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सन्तुलित रहेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन्।
प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसद् सन्तुष्ट हुने स्थिति नआएको बताउँदै आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने बताए।
‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ। त्यसकारण बजेटमा सबै सांसद् सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ। माग र आपूर्तिको असन्तुलन मिलाउन आगामी दिनमा ध्यान दिइनेछ। हामीलाई लगानीको आवश्यकता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनु परेको छ। लगानीको आवश्यकता विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ।’
प्रधानमन्त्री ओलीले संसदमा राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह समेत गरे। उनले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने पनि बताए।
प्रधानमन्त्री ओलीले भने, ‘म बरु ममाथि गरिएको गाली र अपमान सहन्छु तर सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन।’
राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारीरुपमा काम गरेर जनअपेक्षा अनुरुप समुन्नतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको समेत प्रधानमन्त्री ओलीले बताए।
-(21)-1754907022.jpg)