आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइनेछ : सञ्चारमन्त्री
विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको मन्त्री गुरुङले बताए।
काठमाडौं, असार १० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको मंलगबारको बैठकमा विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सुब्बाले उक्त भनाई राखेका हुन्। विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको मन्त्री गुरुङले बताए।
उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने पनि बताए।
‘सूचना प्रविधिको क्षेत्रमा विकसित नविनतम प्रयोगहरुको अधिकतम उपयोग गर्ने, निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने, सूचना प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको छ,’ मन्त्री गुरुङले भने।
मन्त्री गुरुङले सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रुपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालिन सोच रहेको समेत बताए।
उनले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालय सम्बद्ध विषयहरुको कार्यान्वयन र तोकिएका सूचकहरुको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरी साउनदेखि कार्यान्वयनमा ल्याउने र नियमित अनुगमन र मूल्यांकन गरिने जानकारी समेत दिए।
‘मन्त्रालय सम्बद्ध विषयहरुको कार्यान्वयन र तोकिएका सूचकको लक्ष्य प्राप्तिका लागि मन्त्रालयले वार्षिक कार्यक्रमहरुको एकीकृत कार्ययोजना तयार गरी सोहीअनुरुप अगाडि बढीने छ,’ मन्त्री गुरुङले भने।