भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले बताए।
काठमाडौं, असार १० : सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले बताए। समितिमा गृह, श्रम, परराष्ट्र र संघीय मामिला मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। उक्त समितिले ३ महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ।
विपक्षी दलहरूको चौतर्फी दबाब र निरन्तर सदन सञ्चालनमा अवरोध भएपछि सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न बाध्य भएको हो। यसअघि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छानबिन समितिको विरोध गर्दै आएका थिए।
विपक्षी दलहरूले त भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखको राजीनामा पनि माग्दै आएका छन्।
तर, गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक षड्यन्त्र गरिएको आरोप लगाउँदै आएका छन्। विपक्षी दलले लामो समय संसदमा गृहमन्त्री लेखकलाई बोल्न रोकेका थिए। तर, माओवादीसँगको दुई बुँदे सहमतिसँगै गृहमन्त्री लेखकले रास्वपाको नाराबाजीबीच संसदको रोष्टममा बोल्न पाएका थिए।
-(21)-1754907022.jpg)