६१ किलो सुन प्रकरणमा रोकासँग दुई लाख रुपैयाँ धरौटी माग
२०८० साल भदौमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत लगाइएको छ।
काठमाडौं, असार ९ : काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकासँग २ लाख धरौटी मागेको छ।
न्यायाधीश बलराम लम्सालको इजलासले दुई लाख धरौटी माग गरेको हो। रोकालाई गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट पक्राउ गरेको थियो। उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो।
२०८० साल भदौमा अमलासहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत लगाइएको छ। रोका सुन तस्करीमै पक्राउ परेका अर्का आरोपी दावा छिरिङकी श्रीमती हुन्।
२०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।
सोही प्रकरणमा रोकाका श्रीमान दावा छिरिङ २०८० साउन १४ गते पक्राउ परेका थिए। रोका भने फरार थिइन् । उनी माओवादी रोल्पा–काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
उनीविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालतमा पेश गरिएको हो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो।
ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता रहेको जनाइएको छ।