‘भिजिट भिसा काण्ड नेपालीको सपना र भविष्यमाथिको सुनियोजित डकैती हो’
सांसद साहले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए।-1750574487.png)
काठमाडौं, असार ८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित डकैती भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले युवाहरुको बिवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्यूजियम बनाउने बताए।
‘युवाहरुको बिवशताको भुइमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ। यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ। कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ,’ उनले भने, ‘लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछ। यसको सूचीमा नयाँ काण्ड थपिएको छ। भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौं नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती हो । सरकारले यसमाथि छानबिन गर्नुपर्छ।’
सांसद साहले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए।
‘एक महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ। सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्छ,’ उनले भने, ‘आज लाखौ युवा रोजगारीको खोजीमा मरुभूमिका पसिना बगाइ रहेका छन्। यो उनीहरुको रहर होइन देश हाक्नेहरुको असफलताले जन्माएको राष्ट्रिय विवशता हो।’
रास्वपा संख्यामा थोरै भएपनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि उनको भनाई छ।
