युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ
उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन?’
काठमाडौं, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन्।
संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन्।
‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन्,’ उनले भनिन्।
उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन?’
जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने उनले बताइन्। सांसद श्रेष्ठले अमेरिकालगायत विदेश जान लाखौं–करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा लिनपर्ने उनले उल्लेख गरिन्।
‘कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्? यसमा छानबिन गर्नु पर्दैन?’ उनको प्रश्न थियो।
उनले सरकार जनताको लागि हो कि शक्ति भएका व्यक्तिहरूको लागि भन्दै प्रश्न गरिन्।
