वृहत्तर जनकपुर परिषदका तत्कालिन कार्यकारी निर्देशकसहित ९ विरुद्ध भ्रष्टाचारको आरोप
अख्तियारले भ्रष्टाचारमा यी प्रतिबादीले ५१ लाख ७१ हजार रुपैंया बराबर भ्रष्टाचार गरेको आरोप लगाएको छ। भ्रष्टाचारको विगो रकम भने फरक फरक छ।
काठमाडौं, असार ५ : सवारीसाधन खरिद भ्रष्टाचार प्रकरणमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकेर सजायको मागसहित विहीबार मुद्दा दर्ता गरेको हो।
अभियोगपत्रमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरसहित लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव र कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव र कार्यकारी निर्देशक ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुरलाई कारबाहीका लागि प्रतिबादी कायम गरिएको छ।
अख्तियारले भ्रष्टाचारमा यी प्रतिबादीले ५१ लाख ७१ हजार रुपैंया बराबर भ्रष्टाचार गरेको आरोप लगाएको छ। भ्रष्टाचारको विगो रकम भने फरक फरक छ।
अभियोगपत्र अनुसार श्रीमतीको नाममा खरिद गरेको गाडीको सरकारी कोषबाट भुक्तानी दिएको, यात्री निवासको मर्मतसम्भारका नाममा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरेको, सौन्दर्यीकरण र गेट निर्माणको नाममा रकम दुरुपयोग गरेको अनि गाडीको इन्धन र मोबिलका नाममा राज्यकोषको दुरुपयोग गरेकोलगायत आरोप लगाउँदै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप हदैसम्मको सजाय मागदाबी अख्तियारले गरेको छ।
