अमेरिकी दूतावासले भन्यो– एमसीसीले निरन्तरता पाउँछ
एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको समेत जनाइएको छ।
काठमाडौं, असार ४ : नेपालस्थित अमेरिकी दूतावासले ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने बताएको छ।
नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्तिमार्फत एमसीसीसँग भएको अनुदान सम्झौताले निरन्तरता पाउने जनाएको हो।
‘यद्यपि अमेरिकी विदेशी सहायतामाथिको समीक्षा निरन्तर चलिरहेको छ, सन् २०२५ फेब्रुअरीमा स्टेट सेक्रेटरीले अमेरिकाको विदेशी सहायता ९० दिनलाई स्थगित गर्ने निर्णयमा एमसीसी नेपाल कम्प्याक्टका लागि भने विशेष छुट दिने प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो। सोही छुटअनुसार एमसीसी नेपाल कम्प्याक्टलाई पूर्ण कार्यान्वयनसहित निरन्तर रहने अधिकारप्राप्त भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
एमसीसी र नेपालस्थित अमेरिकी नियोगले समीक्षाको रचनात्मक समर्थनमा सरोकारवालासँग निरन्तर छलफल गरिरहेको समेत जनाइएको छ।
दूतावासका अनुसार यस सम्झौताका सम्भावित नयाँ प्रावधानहरुसहित यसअन्तर्गत भइरहेका कार्यहरु अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मिल्दोजुल्दो छन् भनी सुनिश्चित गर्न र पारदर्शिता, सुदृढ शासन, प्रभावकारी वितरण र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न एमसीसीले अर्थ मन्त्रालय र एमसीए नेपालसँग निकटमा रहेर काम भइरहेको छ।
संयुक्त राज्य अमेरिका समृद्धिको प्रवद्र्धन र दीर्घकालीन आर्थिक दिगोपनाबाट नेपाली जनतालाई सहयोग गर्न र आफ्नो नेपालसँगको द्विपक्षीय सम्बन्धप्रति प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।