महानगरका प्रहरी प्रमुख पाण्डेलाई निलम्वन नगर्न उच्च अदालतको आदेश

काठमाडौं, असार ४ : उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न बुधबार अन्तरिम आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म पाण्डेलाई निलम्बन गर्ने काठमाडौं महानगरको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
उच्चको आदेशपछि अदालतले न्याय दिएको भन्दै पाण्डेले धन्यवाद दिएका छन् । पाण्डेले निलम्बनविरुद्ध दिएको एक रिटमा उच्च अदालत पाटनले मंगलबार अन्तरिम आदेशमा छलफलका लागि डाकेको थियो।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डे उच्च अदालत पुगेका थिए। गुरागाईं विदा सकेर कार्यालय फर्किंदै गर्दा माथिको आदेश भन्दै पाण्डेले कार्यकक्षमा ताला लगाइदिएपछि विवादको रुप लिएको थियो।
ताला फोडेर कार्यकक्षमा प्रवश गरेका गुरागाईंले गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बित गरेका थिए। पाण्डेले प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको निलम्बन बदरको माग गरेका थिए।
उनीमाथिको कारवाही रोक्ने वा नरोक्ने बिषयमा दुई पक्षीय छलफलपछि अदालतबाट कारबाही रोक्न अन्तरिम आदेश आएको हो।

-(3)-1755078884.jpg)