विरोधबीच प्रतिनिधि सभाको कारबाही शुरु, बजेटमाथि छलफल

काठमाडौं, असार २ : रास्वपा र राप्रपाको विरोधविच प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले अवरोधकै बीच संसद बैठकको कारबाही अघि बढाएका छन् । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको छ ।
अवरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन शुरु गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरुले वेल घेराउ गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समितिको माग गर्दै अहिले नारा लगाइरहेका छन् ।
सभामुख घिमिरेले भने बजेटमाथिको छलफल अघि बढाएका छन् । रास्वपा सांसदहरुले वेल अगाडि उभिएर नाराबाजी गरे पनि सभामुखले संसदको कारबाही रोकेका छैनन् ।
घेराउ र नाराबाजीविच सभामुख घिमिरेले राप्रपा अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनलाई आफ्ना भनाइ राख्न समय दिएका थिए।
लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । उनले बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने जानकारी गराएका थिए ।