कांग्रेस सांसद बजगाईंले गरे दर्शकदीर्घामा उभिएर बजेटको विरोध
‘सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ,’ सांसद बजगाईंले भने।
काठमाडौं, असार १ : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले प्रतिनिधिसभा बैठक चल्दै गर्दा बजेटको विरोध गरेका छन्।
प्रतिनिधिसभा बैठक चलिरहँदा बजगाईंले दर्शकदीर्घामा पुगेर आर्थिक वर्ष ०८१÷०८२ को बजेटमाथि विरोध जनाएका हुन्।
बैठकमा सहभागी उनी हाजिर गरेर दर्शकदीर्घामा गएर उभिएर बजेटका विरोध गरेका थिए। उनीसँगै गोरर्खाका स्थानीयहरू पनि दर्शकदीर्घामा थिए।
‘सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ,’ सांसद बजगाईंले भने।
सांसद बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको पनि विरोध गरे। मन्त्री दाहालले प्रजातान्त्रिक मूल्यको मर्म नबुझेको र देशको भूगोलप्रति आवश्यक ज्ञान नभएको टिप्पणी सांसद बजगाईंको थियो।
सांसद बजगाईंले मन्त्री दालले भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरण हो भन्ने नबुझेको बताए। बजगाईंले बजेटको विरोध दर्शकदीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुःखद् विषय रहेको समेत बताए।
‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनुभएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ सांसद बजगाईंले भने।
