सूचना तथा प्रशारण विभागका महानिर्देशक परियारमाथि भ्रष्टाचारको अभियोग
सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचारको आरोप लगाउँदै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
काठमाडौं, जेठ २८ : काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
परियार अहिले सूचना तथा प्रशारण विभागको महानिर्देशक थिए । उनी आजैदेखि स्वतः निलम्वनमा परेका छन्।
सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचारको आरोप लगाउँदै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
परियारसँगै अभियोगपत्र दर्ता हुनेमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन्।
अख्तियारका अनुसार ढल निर्माण ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो । यस्तै, कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो।
ठेक्का लगाउँदा कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई नदिएर अर्कोलाई दिएको भन्दै उजुरीमा छानविन हुँदा भ्रष्टाचार भएको तथ्य भेटिएको हो ।
