‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’
अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।
म्याग्दी, जेठ २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने बताएका छन्।
म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँगको अन्तरक्रियामा उनले प्राकृतिक स्रोतलाई उचित व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनको आधार बनाउन सकिने सम्भावना रहेको बताए।
‘चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोर सडकको अवस्था, प्राकृतिक स्रोतको सम्भावना र परिचालनका विषयमा छलफल, पूर्वाधार विकासको आवश्यकता तथा जनताका समस्या बुझ्न पोखराबाट सडक मार्ग हुँदै मुस्ताङ जाने निर्णय गरेको हुँ,’ उनले भने, ‘म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका मुहानलाई संरक्षण, प्रवर्द्धन र व्यवस्थित गरेर स्वास्थ्य पर्यटनको विकास गराउन सकिने सम्भावना देखेको छु।’
कालीगण्डकी र आसपासका नदीहरूमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा रोजगारीका अवसर सृजना हुनुका साथै हिमाल, झरना र रमणीय दृष्यावलोकनमा पर्यटकको आकर्षण बढाउन प्राकृतिक सम्पदाको पहिचान, प्रवर्द्धन र विकास गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए।
उनले पर्यटन प्रवर्द्धनमार्फत नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिने बताए।
अध्यक्ष दाहालले रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिलाई पूर्णता दिन, पहिरो तथा नदी कटान रोकथाम गर्न र कोरला नाका व्यापारिक रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।
देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताउँदै उहाँले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने उनको धारणा थियो।
