तिलोत्तमा नगरपालिकाद्वारा युवालाई विनाधितो कर्जा
रुपन्देही, वैशाख २५ : कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर....

रुपन्देही, वैशाख २५ : कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ। स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा चार लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो।
पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवासँग उद्यम प्रस्ताव आह्वान गरेको छ। इच्छुकले आगामी जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यमसम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ। प्राप्त प्रस्तावानुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
नगरपालिकाले गत कात्र्तिकमा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको थियो। सोही सम्झौतानुसार नगरपालिकाले बैंकको रिजर्भ कोषमा कर्जा प्रवाहका लागि रकम जम्मा गरिसकेको छ। मूलतः बेरोजगार युवालाई लक्ष्य गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु सो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ। हालका लागि कर्जाको व्याजदर पुरुषका हकमा वार्षिक ४ दशमलब ५० र महिलाको हकमा वार्षिक ३ दशमलब ५० प्रतिशत छ।
कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ। महिला, दलित, पछाडि परेका समुदाय र वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताइन्।
कर्जा प्रवाहका लागि तरकारी, फलफूल, फूल, च्याउ, जडिबुटी खेती, पशुपक्षीपालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ। भुक्तानीको अवधि बढीमा पाँच वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाको प्रस्तावानुसार विस्तार गर्न सकिने जनाइएको छ।











