Kathmandu Press

बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए।
बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

झापा, कात्तिक ५ : झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित क्यान्टिनमा आगलागी भएको हो। बिर्तामोड–४ निवासी रवि राजवंशीले सञ्चालन गरेको उक्त ग्यारेज ठूला सवारीसाधन मर्मत गर्ने केन्द्र हो।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीको प्रारम्भिक कारण विद्युत् सर्ट भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। उक्त क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायलको गोदाममा समेत आगोको सामान्य असर परेको थियो। दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिज्दा अनुमानित २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

अन्य क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता अवालेले जानकारी दिए ।

प्रकाशित मिति: १५:४० बजे, बिहीबार, कात्तिक ५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्