विराटनगरमा शेखर गुटको भेला, ‘रिभाईप कांग्रेस’को आवश्यकतामा जोड
भेलामा १५औं महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको संगठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ।-(6)-1749274343.jpg)
मोरङ, जेठ २४ : नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।
शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन्।
भेलाले १५औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्।
उनका अनुसार भेलामा १५औं महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको संगठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ।
भेलाले ‘रि भिजिट बिपी, रिभाईप कांग्रेस’ को नारामा केन्द्रित भएर पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। अबको कांग्रेस चाल, चेहरा र चरित्र सहितको कांग्रेसको आवस्यक्ता जरुरी रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसमा केन्द्रित हुन नेतृत्व वर्गलाई आग्रह समेत गरेका छन्।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईँ भन्छन्, ‘सबैभन्दा ठुलो गुनासो चाहिँ एकपक्षीय रूपमा सबै निर्णहरु भइरहेको छ र अर्को पक्षीयले पार्टी भित्र काम गर्नै नदिने अवस्था सृजना भएको छ।’
भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो।
‘पार्टीमा के हुनुपर्दथ्यो? के भइरहेको छ? आग्रह पूर्वाग्रह नराखी भेला गरेका हौं। साङ्गठनिक अवस्थाबारे चर्चा गर्न पनि छलफलको आयोजना गरेका हौं,’ गुरुराज घिमिरे भन्छन् ।