जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित : देउवा
देउवाले नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताए।
काठमाडौं, जेठ २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित बनेको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्नेक्रममा यस्तो भनाई राखेका हुन्।
देउवाले नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना बेहोर्नु परेको बताए।
‘विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको छ। अस्वभाविक मौसमले जनजीवनमा ठुलो प्रभाव परेको छ। यस सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता छ,’ सभापति देउवाले भने, ‘यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक छ।’
सभापति देउवाले नेपाल नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने मुलुकमध्ये रहे पनि सबैभन्दा बढी मारमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे। स
देउवाले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण समेत गराए । नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने धारणा पनि व्यक्त गरे।
ज्ञापनपत्र बुझाउनेक्रममा साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालमा नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोग बढाएर कोइलाजस्ता जीवाष्म ऊर्जाको प्रयोग बन्द गर्न सबैको पहल आवश्यक रहेको सुझाव दिएकी थिइन् ।