साढे चार करोड बढीका स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, वैशाख २४: अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख....

काठमाडौं, वैशाख २४: अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री आज हस्तान्तरण गरेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघले सामग्री खरिद गरेको थियो।











