विप्लव नेकपाका नेता विरहीलाई क्याबिनमा राखेर उपचार गरिँदै
चितवन, वैशाख २४ : नेत्रविक्रम चन्द विप्लव नेकपाका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ। घर....

चितवन, वैशाख २४ : नेत्रविक्रम चन्द विप्लव नेकपाका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’को भरतपुर अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ। घरको भर्याङबाट लडेर चोट लागेपछि ढाडको उपचार गर्न मंगलबार कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा आइपुगेका विरहीलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीको निगरानीमै उनलाई मंगलबार साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं ३०२ मा राखिएको छ। वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उनको उपचार गर्ने काम जारी छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारमा कुनै कमी हुन नदिने बताए। अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा अधिकारीले उनको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थायरायड र उच्च रक्तचापको समेत उपचार भइरहेको जानकारी दिए।
डा अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो। भर्याङ्गबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ। आजैदेखि उच्च रक्तचाप नियन्त्रणका लागि औषधि प्रयोग गरिएको छ।
अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा. श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ। अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदै उनले नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापीसमेत गरिने जानकारी दिए।
पार्टीको मर्यादाक्रममा छैटौं तहका नेता विरही हाल प्रकाशन विभागका प्रमुख हुन्। भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका १० समिटारमा घरको भर्याङ्गबाट झर्ने क्रममा लडेर उनको ढाडमा समस्या आएको हो।
रत्ननगर नगरपालिका ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आएका थिए। सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गरेका उनी नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले चन्द निकट राजनीतिमा सक्रिय छन्।











