Kathmandu Press

खाद्य कम्पनीबाट अनलाइनमार्फत ग्राहकलाई सेवा

काठमाडौं, वैशाख २४ : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत चक्रपथभित्रका २१२ ग्राहकलाई सेवा प्रदान गरेको छ। लकडाउनक....

खाद्य कम्पनीबाट अनलाइनमार्फत ग्राहकलाई सेवा

काठमाडौं, वैशाख २४ : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत चक्रपथभित्रका २१२ ग्राहकलाई सेवा प्रदान गरेको छ। लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले गत चैत २६ देखि यही वैशाख २२ गतेसम्म अनलाइनमार्फत उपभोक्तालाई होम हेलिभरीमार्फत सेवा प्रदान गरेको हो।

कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्रीवितरण गर्दै आएको छ। सोअनुसार १०६ क्विन्टल चामल, ७५५ किलो कर्णालीको सिमी र ३३ किलो दाल बिक्री गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार हाल रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ। अब छिट्टै दुग्ध विकास संस्थानबाट उत्पादित घिउलगायत खाद्य सामग्री पनि  बिक्री सूचीमा राखिने जानकारी उनले जानकारी दिए। 

लकडाउन अवधिमा काठमाडौं उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ। 

सामाजिक तथा व्यापारिक दुवै उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले आगामी दिनमा आवश्यकतानुसार किसानका उत्पादन खरीद तथा भण्डारण गर्ने तथा दुर्गम जिल्ला र  बजारको सम्भावनालाई समेत अध्ययन गरी विभिन्न उपभोग्य सामग्रीका साथै अन्य व्यापारिक वस्तु खरिदबिक्री गर्ने जनाइएको छ।

प्रकाशित मिति: ११:४१ बजे, बुधबार, वैशाख २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्