मानवताको भविष्य रक्षा गर्न विश्वव्यापी ऐक्यबद्धताको आह्वान
उनीहरुले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकताको खाँचो औंल्याए।
काठमाडौं, जेठ ३ : सगरमाथा संवादमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले मानवताको भविष्य रक्षा गर्न ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।
शुक्रबारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा विदेशी प्रतिनिधिले उक्त आव्हान गरेका हुन्। उनीहरुले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका कारण परिरहेका प्रभाव तथा मानवताको भविष्य रक्षा गर्न एकताको खाँचो औंल्याए।
सगरमाथा संवादमा नेपाल, भारत, चीन, पाकिस्तन, बंगलादेश, भुटान, बेलायत, संयुक्त अरब इमिरेट्स, जापान, कतार, किर्गिस्तान, ब्राजिल, इजिप्ट, ओमानलगायत देशका प्रतिनिधि सम्मेलनमा सहभागी छन्। साथै, अन्तरराष्ट्रिय र क्षेत्रीय संगठनहरू संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, सार्क, बिम्स्टेक, इसिमोडका प्रतिनिधि पनि सहभागी छन्।
सगरमाथा संवाद कार्यक्रमको उद्घाटन तथा पूर्ण सत्र सकिएपछि आयोजित बिफ्रिङमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्यताका साथ सम्पन्न भएको जानकारी गराएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गर्दै सगरमाथा संवादको उद्घाटन गरेका थिए।
कोप २९ का अध्यक्षता तथा जलवायु मुद्दाहरूमा अजरबैजान गणतन्त्रका राष्ट्रपतिका प्रतिनिधि मुख्तार बाबायेभले आफ्नो मुख्य भाषण दिँदै जलवायु परिवर्तनका धेरै आयामहरू र पहाडहरूमा पर्ने प्रभावलाई सम्बोधन गर्न आवश्यक विकल्प र समाधानबारे धारणा राखेका थिए । भारत सरकारका वातावरण, वन र जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवले पहाड र त्यसभन्दा बाहिर जलवायु परिवर्तनका धेरै प्रभावबारे प्रकाश पारे।
मन्त्री डा.राणाका अनुसार जनवादी गणतन्त्र चीनको स्थायी समितिका उपाध्यक्ष जिओ जीले सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका गम्भीर प्रभावबारे जोड दिएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि भिडियो सन्देशमार्फत सत्रलाई सम्बोधन गरेका थिए । कुल १९ प्रतिनिधिमण्डलले जलवायु परिवर्तन, पहाड र मानव जातिको भविष्यका विविध पक्षहरूलाई प्रकाश पार्दै आफ्ना भनाईहरु राखेका थिए।
‘विभिन्न मुलुकबाट आएका विशिष्ट नेताहरू, नीति निर्माता, विशेषज्ञ र अन्य सरोकारवालाले सम्बोधन गरी संवादको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भयो। त्यसपछि अन्तरराष्ट्रिय सम्मेलनको ढाँचा पछ्याउँदै पूर्ण सत्र भएको थियो । सत्रमा सहभागी देश, अन्तरराष्ट्रिय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरूले संवादको केन्द्रीय विषयमा आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो,’ प्रेस ब्रिफिङमा मन्त्री राणाले भनिन्।