‘राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा हुँदैन’
‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन। प्रतिगामी सपना काम लाग्दैन,’ उनले भने।
काठमाडौं, वैशख २८ : प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन्।
‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन। प्रतिगामी सपना काम लाग्दैन,’ उनले भने।
बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गर्दै उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए।
‘समयलाई चिनौं, समयानुसार अघि बढौं बंगलादेश बनाउँछौं भन्ने । बंगलादेशमा पनि बितेको राजा त फर्काएनन् त, त्यहाँ पनि राजा थिए नि एकपटक,’ प्रधामन्त्री ओलीले भने, ‘श्रीलंकामा पनि राजा फर्काएको होइन। लोकतन्त्रभित्रको कुरा हो। लोकतन्त्र, संविधान, प्रणाली र शान्तिपूर्ण राजनीति भित्रको कुरा गर्न सिके हुन्थ्यो।’्